Friday, June 5, 2020

निबन्ध - अनुशासन


        अनुशासन शब्द शासन शब्दका अघिल्तिर अनु उपसर्ग लागेर बनेको शब्द हो ।  अनुशासन भनेको नियम पालन हो । अनुशासन शब्दले सामाजिक, नैतिक, धार्मिक, राजनैतिक आदि नियम नियमावलीको मर्यादा र सो मर्यादाभित्र रहने काम भन्ने बुझाउँछ । अनुशासनले आदर्श आचरण र त्यसको पालना गर्ने काम भन्ने अर्थ पनि राख्दछ । साँच्चै भन्ने हो भन्ने अनुशासन मानवजातिको सर्वोत्तम गुण हो । अनुशासित व्यक्तिलाई सबैले मन पराउँछन् । 
 
अनुशासन भनेको नियम पालन हो । प्रकृतिले पनि नियमको पालना गरेको हुन्छ । पृथ्वीले एउटा निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ  र यसैको आधारमा दिन र रातको प्रक्रिया चालु भईरहन्छ । बिशाल समुद्र पनि आफ्नो निश्चित सिमामा अडिएको हुन्छ । गर्मी र जाडो मौसम पनि नियमानुसार नै बदलिन्छन् । त्यस्तै हावा, बादल, पहाड, आगो रुख आदि सबै आ–आफ्नो नियमा अनुसार चलेका हुन्छन् । प्रकृतिको यस प्रकारको अनुशासनको आडमा मानवजीवन पनि अडिएको छ ।  
  अनुशासन मानिसको लागि अत्यन्तै आवश्यक छ । अनुशासन पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । यस्तो व्यक्ति सबैको नजरमा असल ठहरिन्छ । बिद्यार्थी जिवनमा त झन अनुशासनको ठूलो महत्व रहेको छ, अनुशासन पालना नगर्ने बिद्यार्थीले केहि पनि सिक्न र जान्न सक्दैन । अनुशासनको क्षेत्र धेरै फराकिलो छ । घरपरिवार, बिद्यालय देखि दिएर समाज, देश सबै ठाउँमा अनुशासन चाहिन्छ । परिवारका सदस्य, समाजका सदस्य र साथीभाईहरुलाई लगायत सबैलाई आदर र माया गर्ने, भेदभाव नगर्ने, एक अर्काको कदर गर्ने, दुःख परेको बेलामा एकअर्कालाई सहयोग गर्ने जस्ता कुराहरु अनुशासनकै घेराभित्र पर्दछन् । बिद्यार्थी, सैनिक र सुरक्षाकर्मीहरुको लागि त अनुशासनको झनै ठूलो महत्व छ । 
   

 बिद्यार्थी जिवनमा अनुशासनको ज्यादै महत्व रहन्छ । अनुशासन बिना बिद्यार्थीहरुले केहि सिक्न र जान्न सक्दैनन् । बिद्यालयको नियमहरु पालना गर्ने, शिक्षकको मान गर्ने, पढेका र जानेका कुरा पालना गर्ने  बिद्यार्थी पछि गएर असल नागरिक बन्दछ र उसको भविष्य पनि उज्जवल बन्दछ । त्यस्तै अनुशासनहिन बिद्यार्थी उदण्ड र अराजक भई  विकृतीको बाटो तिर लाग्दछ ।
 
 कुनै व्यक्ति अनुशासित छैन भने कसैले पनि अनुशासित बनाउन सक्दैन । दण्ड, डर र धम्कीबाट कायम गरिने अनुशासन क्षणिक हुन्छ, त्यस्तो अनुशासन सँधै टिकीरहँदैन । त्यसैले सबैले आँफै अनुशासनमा बस्नु जरुरी छ, यस अर्थमा आत्मानुशासन नै अनुशासनको पहिलो शर्त हो ।   

No comments:

Post a Comment